काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले सुकुम्बासी परिवारमाथि भइरहेको उठिबास र झुप्रा भत्काउने कार्यप्रति गम्भीर आपत्ति जनाएको छ। आइतबार जारी प्रेस विज्ञप्तिमार्फत पार्टीले पुनर्वासको वैकल्पिक व्यवस्था नगरी गरिएको यस्तो कदम अमानवीय भएको भन्दै तत्काल रोक्न सरकारसँग माग गरेको हो।

पार्टीले सुकुम्बासी व्यवस्थापनका नाममा भइरहेको कारबाहीले सीमान्तकृत समुदाय थप पीडित बनेको उल्लेख गर्दै यसले राज्यप्रतिको विश्वास कमजोर पार्ने चेतावनी दिएको छ। “समुचित पुनर्वासबिना कुनै पनि परिवारलाई विस्थापित गर्नु उचित होइन,” विज्ञप्तिमा भनिएको छ।

यसैबीच, नेपाल सरकार प्रति लक्षित गर्दै पार्टीले पछिल्लो समय बजारमा महँगी र कालोबजारी बढेको दाबी गर्दै तत्काल नियन्त्रणका प्रभावकारी उपाय अवलम्बन गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा विद्यार्थी संगठनहरू र ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत भन्दै कडा आपत्ति जनाइएको छ। पञ्चायतकालमै स्थापित संगठित हुने अधिकारलाई वर्तमान संघीय लोकतान्त्रिक व्यवस्थामा सीमित गर्न खोजिएको भन्दै पार्टीले यसलाई अस्वीकार्य ठहर गरेको छ।

त्यस्तै, ट्रेड युनियन अधिकारमा हस्तक्षेपले अन्तर्राष्ट्रिय सन्धि–सम्झौतासमेत उल्लङ्घन हुने खतरा रहेको उल्लेख गरिएको छ। पार्टीले सरकारप्रति जनताको सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा रहेको स्मरण गराउँदै शासन सञ्चालनमा देखिएको एकपक्षीय र पूर्वाग्रही प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ।

पार्टीले सरकारलाई लोकतान्त्रिक, उत्तरदायी र समावेशी ढंगले अघि बढ्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।