काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज देशभर धार्मिक आस्था र परम्पराअनुसार मनाइँदैछ। विशेषगरी जौको सातु र सर्वत दान तथा सेवन गर्ने चलनका साथ भक्तजन बिहानैदेखि पूजा–आराधनामा जुटेका छन्।

शास्त्रीय विधानअनुसार आज बिहान सबेरै उठेर घर लिपपोत गरी स्नानपछि पूजा सामग्री तयार पारेर सङ्कल्प गर्ने गरिन्छ। दियो, कलश र गणेशको पूजा गरी कलशमाथि अष्टदल लेखिएको तामाको थाल राखी भगवान् विष्णुको सोह्र सामग्रीले विधिपूर्वक पूजा गर्ने परम्परा छ।

यस दिन पुरोहितलाई सम्मानसहित पूजा गरी तामा वा माटाका भाँडामा शुद्ध पानी राखेर दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी र मिश्री मिसाई सर्वत बनाइन्छ। साथै जौको सातुसँगै घडा दान गर्ने चलन वैदिककालदेखि चलिआएको विश्वास गरिन्छ।

धर्मशास्त्रअनुसार आजको दिन गरिने स्नान, दान, जप र ध्यानजस्ता पुण्यकर्म अक्षय अर्थात् कहिल्यै नास नहुने फल दिने उल्लेख छ। गर्मीयाममा जौको सातु र सर्वत सेवनले शरीरलाई शीतलता प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने विश्वास पनि रहेको छ।

आजको दिन धर्मघट दानको विशेष महत्व रहेको छ। बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा सामर्थ्यअनुसार गाई, जमिन, अन्न वा सुन दान गर्ने परम्परा पनि रहँदै आएको छ। यस्ता दान असहाय र विपन्न वर्गलाई गर्ने प्रचलन बढ्दै गएको छ।

पौराणिक मान्यताअनुसार सत्ययुगमा आजकै दिन भगवान् शिव र पार्वतीको विवाह भएको विश्वास गरिन्छ। साथै त्रेतायुगको आरम्भ पनि यही दिनबाट भएको शास्त्रीय मान्यता छ। यसैले विवाहका लागि आज साइत हेर्नु नपर्ने परम्परा पनि प्रचलित छ।

यस अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ।