काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत जारी प्रतियोगितामा पञ्जाव किंग्स ले आफ्नो अपराजित यात्रा निरन्तर कायम राखेको छ। गएराति न्यु चण्डीगढमा सम्पन्न खेलमा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले पराजित गर्दै प्रभावशाली जित निकालेको हो।

पञ्जाबले दिएको विशाल २५५ रनको लक्ष्य पछ्याएको लखनउ निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०० रनमै सीमित रह्यो। लखनउका लागि रिषभ पन्तले ४३ रन बनाए भने एडेन मारक्रम ४२, मिचेल मार्श ४० र आयुश बदोनीले ३५ रनको योगदान दिए।

पञ्जाबका लागि मार्को यानसनले २ विकेट लिए भने अर्शदीप सिंह, विजयकुमार वैशक र युजभेन्द्र चहलले  समान १–१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाउँदै २५४ रनको विशाल योगफल खडा गरेको थियो। टोलीका लागि प्रियान्श आर्यले ९३ रनको उत्कृष्ट पारी खेले भने कुपर कोनलीले ८७ रन जोडे। साथै मार्कस स्टोइनेसले २९ रनको योगदान दिए।

लखनउका बलरमध्ये प्रिन्स यादव  र मनिमरन सिद्धार्थले २–२ विकेट लिए भने मोहसिन खान र मोहम्मद सामीले समान १–१ विकेट लिए।

यो जितसँगै पञ्जाब ६ खेलबाट ११ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित लखनउ भने समान खेलबाट ४ अंकसहित आठौँ स्थानमा सीमित रहेको छ।