काठमाडौं : अमेरिकी राष्ट्रपति डोर्नल्ड ट्र्म्पले खाडी क्षेत्रमा जारी नौसैनिक घेराबन्दीका क्रममा अमेरिकाले इरानी झण्डावाहक एक मालबाहक जहाज नियन्त्रणमा लिएको बताएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार ‘टुस्का’ नामक जहाजले रोक्न दिइएको चेतावनी बेवास्ता गरेपछि अमेरिकी नौसेनाले हस्तक्षेप गर्दै नियन्त्रणमा लिएको हो। करिब ९०० फिट लामो उक्त जहाज घेराबन्दी तोड्न खोजेपछि यसको इन्जिन कक्षमा क्षति पुर्‍याएर रोकेको बताइएको छ। हाल जहाज अमेरिकी नियन्त्रणमा रहेको र त्यसमा रहेको सामग्रीबारे जाँच भइरहेको जनाइएको छ।
उता इरानले यस घटनालाई युद्धविरामको उल्लंघन र ‘सशस्त्र समुद्री डकैती’ को संज्ञा दिँदै कडा प्रतिक्रिया जनाएको छ। इरानी पक्षले चाँडै प्रतिकार गर्ने चेतावनी समेत दिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यो घटना अमेरिका र इरानबीच दोस्रो चरणको वार्ता तयारी भइरहेका बेला भएको हो। जेडि भेन्स भेन्स को नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने तयारी भइरहेका बेला बढेको तनावले वार्ता अनिश्चित बनेको छ। इरानले अमेरिकी घेराबन्दी जारी रहेसम्म वार्तामा सहभागी नहुने संकेत गरेको छ।
दुवै देशबीचको द्वन्द्व फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको थियो। पाँच हप्तासम्म चलेको युद्धपछि दुई हप्ते युद्धविराम घोषणा गरिएको थियो, जुन अब केही दिनमै समाप्त हुँदैछ।
स्ट्रेट अफ होर्मुज र ओमानको खाडी क्षेत्रमा बढ्दो तनावका कारण विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ढुवानी प्रभावित भएको छ। यसले अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्यमा तीव्र वृद्धि गराएको छ।
इरानी सैन्य मुख्यालय ‘खातम अल-अम्बिया’का प्रवक्ताले अमेरिकामाथि अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरी व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानले ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप लगाउँदै यदि शान्ति सम्झौता नभए इरानका महत्वपूर्ण पूर्वाधारहरू निशाना बनाइने चेतावनी दिएका छन्।
खाडी क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमले अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तनाव थपिएको छ भने सम्भावित द्वन्द्व विस्तारको जोखिम पनि बढाएको छ।