काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र उच्च राजनीतिक नेताहरूलाई लक्षित गर्दै धम्की दिने एक युवक पक्राउ परेका छन्। प्रहरीले बझाङ थलरा गाउँपालिका–४ का २० वर्षीय साजन बिष्ट (सानुभाइ) लाई काठमाडौंको सिनामंगलबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बिष्टले फेसबुकमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा नगरे प्रधानमन्त्रीलाई गोली हान्ने धम्की दिएका थिए। उनले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण गर्न आफूहरू बाध्य हुने भन्दै चेतावनी दिएका थिए।
उनले प्रयोग गरेको फेसबुक आईडीमार्फत एके–४७ जस्ता अत्याधुनिक हतियार काठमाडौं भित्रिसकेको दाबीसमेत गरिएको थियो, जसले सुरक्षा निकायलाई सतर्क बनाएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाएको छ। प्रहरीका अनुसार उनीमाथि साइबर कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको छ।
प्रारम्भिक अनुसन्धानमा बिष्ट विगत पाँच वर्षदेखि भारतको बैंगलोरमा बस्दै आएको खुलेको छ, जहाँ उनी फेन्सी पसलमा काम गर्दै आएका थिए। प्रहरीका अनुसार भारतमै रहँदा पनि उनी विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आशंका गरिएको छ।
यस घटनाले सामाजिक सञ्जालमार्फत हुने धम्की र साइबर अपराधप्रति सुरक्षा निकायको निगरानी अझ कडा बनाउने संकेत दिएको छ।

