काठमाडौं । सुशासन र जवाफदेहिताको माग गर्दै युवाहरूको समूह जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङ विरुद्ध कडा कदम चाल्दै पदबाट हटाउन र अनुसन्धानका लागि पक्राउ गर्न माग गरेको छ।
मंगलबार नक्सालस्थित नेपाल प्रहरी को प्रधान कार्यालय पुगेर मुभमेन्टले औपचारिक उजुरी दर्ता गराएको हो।
संगठनले दर्ता गरेको निवेदनमा गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपहरू सार्वजनिक भइसकेको अवस्थामा उनी पदमा बसिरहनु नैतिक र कानुनी दुवै हिसाबले अनुपयुक्त भएको उल्लेख गरिएको छ। आफ्नै मातहतको निकायमार्फत हुने अनुसन्धानमा प्रभाव पार्ने सम्भावना उच्च रहने भन्दै यसलाई ‘स्वार्थको द्वन्द्व’ को उदाहरणका रूपमा प्रस्तुत गरिएको छ।
प्रवक्ता विजय शाहद्वारा हस्ताक्षरित निवेदनमा ‘प्राकृतिक न्याय’को सिद्धान्तलाई मुख्य आधार बनाइएको छ। “आफ्नै मुद्दामा आफैं निर्णायक बन्न मिल्दैन” भन्ने मान्यतालाई उल्लंघन गर्दै पदमा रहिरहनु न्यायप्रणालीको अवमूल्यन भएको मुभमेन्टको दाबी छ।
यसैबीच, मुभमेन्टले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय मानवअधिकार आयोग मा समेत बोधार्थ बुझाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेको छ।
छानबिन प्रक्रिया पारदर्शी बनाउन र प्रतिवेदन छिटो सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै मुभमेन्टले सरकारलाई तत्काल कदम चाल्न आग्रह गरेको छ।

