काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा यूएई विरुद्ध सहज जित निकाल्दै सिरिज बराबरी गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको हो।

१२९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमै २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा १२ चौका र २ छक्कासहित ८२ रनको शानदार अर्धशतक प्रहार गरे।
कप्तान दिपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा कुशल मल्लले १९ रन बनाए। डेब्यू खेल खेलिरहेका सन्तोष यादव भने १ रनमै आउट भए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो। यूएईका अक्षदीप नाथले ५३ रन बनाए भने मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन जोडे।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै मात्र ६ रन खर्चिएर ३ विकेट लिए। हेमन्त धामीले २ विकेट लिँदा नन्दन यादव र शाहब आलमले समान १–१ विकेट लिए।
यसअघि पहिलो खेलमा यूएईसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेल जित्दै सिरिजमा दमदार पुनरागमन गरेको हो।