काठमाडौँ– पुष्पकमल दाहाल प्रचण्ड ले वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकताबद्ध मोर्चा निर्माण आजको आवश्यकता भएको बताएका छन्।
नेपाली कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस तथा व्लादिमिर लेनिन जयन्तीका अवसरमा बुधबार जारी शुभकामना सन्देशमा उनले समाजवाद र साम्यवादको लक्ष्य हासिल गर्न सबै वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका हुन्।
प्रचण्डले वर्तमान विश्व परिवेशमा साम्राज्यवाद अझ आक्रामक बन्दै राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि चुनौती बढाइरहेको बताए। यस्तो परिस्थितिमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच व्यापक मोर्चाबन्दी आवश्यक रहेको उनको भनाइ छ।
उनले लेनिनका विचार र आदर्श अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै नेपाली समाजलाई समतामूलक दिशामा अघि बढाउन वामपन्थी एकता अनिवार्य भएको बताए।
सन्देशमा उनले कम्युनिष्ट आन्दोलनले इतिहासदेखि नै उत्पीडित वर्ग र समुदायहरूको अधिकार र राष्ट्रिय स्वाधीनताको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। साथै विगतका बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्दै श्रमजीवी वर्गको पक्षमा आन्दोलन अघि बढाउनुपर्ने जिम्मेवारी अझ बढेको उल्लेख गरेका छन्।
वि.सं. २००६ साल वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो।

