काठमाडौं– सुधन गुरुङ ले गृहमन्त्री पदबाट राजीनामा दिएका छन्।

व्यापारी दीपक भट्ट सँग सेयर लगानीसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोबीच उनले नैतिकताको आधारमा पद त्यागेको घोषणा गरेका हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत जारी वक्तव्यमा गुरुङले आजैबाट लागू हुने गरी पदबाट अलगिएको जानकारी दिएका छन्। उनले हालसम्म इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका टिप्पणी र आलोचनालाई गम्भीर रूपमा लिएको बताएका छन्।

उनले जनविश्वासलाई सर्वोच्च मानेर निष्पक्ष छानबिनका लागि मार्ग प्रशस्त गर्न पद त्यागेको स्पष्ट पारेका छन्। पदमा रहँदा स्वार्थको द्वन्द्व देखिन सक्ने भएकाले त्यसबाट टाढा रहन राजीनामा दिएको उनको भनाइ छ।

गुरुङको राजीनामासँगै अब सरकारभित्र नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।