काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने अभियानलाई तीव्रता दिएको छ। प्रधानमन्त्री शाहले सुरक्षा निकायका प्रमुखहरूसँग गरेको उच्चस्तरीय बैठकपछि काठमाडौँ उपत्यकाबाटै अभियान सुरु गर्ने निर्णय गरिएको हो।

बुधबार साँझ सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री शाहले आउँदो शनिबार र आइतबारदेखि नै अभियान सुरु गर्न निर्देशन दिएका हुन्। हाल गृह मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका उनले सुरक्षा निकायलाई आवश्यक तयारी गर्न र स्थानीय तहसँग समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन्।

सरकारी स्रोतका अनुसार सार्वजनिक जमिन अतिक्रमण गरेर बसोबास गरिएका बस्तीहरू हटाउने निर्णय कार्यान्वयनका लागि सुरक्षा निकायलाई ‘रेडी स्टेट’मा राखिएको छ। अभियान सञ्चालनका क्रममा जनशक्ति परिचालन, स्थानीय तहसँग सहकार्य तथा सम्भावित विरोध व्यवस्थापनका विषयमा समेत विस्तृत छलफल भएको जनाइएको छ।

प्रारम्भमा काठमाडौँ उपत्यकाबाट अभियान सुरु गरी क्रमशः देशका अन्य क्षेत्रमा विस्तार गर्ने रणनीति तय गरिएको बताइएको छ। यसअघि महानगर प्रमुखका रूपमा रहँदा पनि शाहले यस्ता बस्ती हटाउने प्रयास गरेका थिए, तर स्थानीय विरोध र समन्वय अभावका कारण सफल हुन सकेको थिएन।

संघीय सरकारको नेतृत्वमा पुगेपछि उनले पुनः सोही अभियानलाई प्राथमिकतामा राख्दै कार्यान्वयनमा लैजाने संकेत दिएका छन्।