काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा दशौँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग आजदेखि सुरु भएको छ। दशरथ रंगशाला कभर्डहलमा हुने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ।

लिगमा पुरुषतर्फ ८ र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ, जहाँ शीर्ष दुई टोली फाइनलमा पुग्नेछन्। यस संस्करणमा कूल ४५ खेल हुने तालिका छ।

लिगका विजेताले १० लाख रुपैयाँसहित ट्रफी जित्नेछन्, जुन नेपाली भलिबल इतिहासकै सबैभन्दा ठूलो पुरस्कार मानिएको छ। उत्कृष्ट टोलीहरूले सन् २०२६ मा हुने काभा क्लब च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन्।

पहिलो दिन चार खेल हुँदैछन् भने केही टोलीहरूले विदेशी खेलाडीसमेत समावेश गरी प्रतिस्पर्धालाई थप रोचक बनाएका छन्।