काठमाडौं । थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउने प्रक्रिया पुनः सुरु भएको छ। प्रहरी टोलीले बिहीबार साँझ बस्ती क्षेत्रमा माइकिङ गर्दै निर्धारित समयभित्र स्थान खाली गर्न आग्रह गरेको हो।

महानगरका मेयर बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै शनिबार र आइतबारभित्र बस्ती खाली गराउने निर्देशन दिएका थिए। सोही निर्देशनअनुसार प्रहरीले भोलि बेलुकासम्म बस्ती खाली गर्न सूचना दिइरहेको जनाएको छ।

प्रहरीका अनुसार शान्तिपूर्ण रूपमा स्थान खाली गराउनका लागि स्थानीयलाई पटक–पटक जानकारी गराइएको छ। यदि तोकिएको समयभित्र बस्ती खाली नभए कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी पनि दिइएको छ।

थापाथली क्षेत्रको सुकुम्वासी बस्ती लामो समयदेखि विवादमा रहँदै आएको छ। मेयर शाहले यसअघि पनि बस्ती व्यवस्थापन तथा हटाउने प्रयास गरे पनि सफल हुन सकेका थिएनन्।

यसपटक भने सुरक्षा निकायको समन्वयमा प्रक्रिया अघि बढाइएको भन्दै महानगरले व्यवस्थित रूपमा कार्यान्वयन गर्ने तयारी गरेको जनाएको छ।