काठमाडौं– सरकारले काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाउने अभियान आजदेखि सुरु गरेको छ। बिहान ७ बजेदेखि थापाथलीस्थित बागमती किनारमा रहेका बस्तीमा डोजर प्रयोग गरी भत्काउने कार्य थालिएको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत पहिलो चरणमा थापाथली, मनोहरा तथा सिनामंगल–गैरिगाउँ क्षेत्रका बस्ती हटाइने जनाइएको छ।
सरकारले दुई दिनभित्र सबै संरचना हटाइसक्ने लक्ष्य राखेको छ। यसका लागि पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ भने सुरक्षा व्यवस्थासमेत कडा बनाइएको छ।
बस्ती हटाउने कार्यलाई लिएर स्थानीय बासिन्दामा चिन्ता र अन्योल देखिएको छ। वैकल्पिक व्यवस्थाको माग गर्दै प्रभावितहरुले असन्तुष्टि जनाइरहेका छन्।

