काठमाडौं– वैशाख महिना सुरु भएसँगै देशभर विपद्का घटनामा उल्लेख्य वृद्धि देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण का अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर ५२७ विपद्का घटना भएका छन्।
ती घटनामा परी २३ जनाको ज्यान गएको छ भने ७३ जना घाइते भएका छन्। प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका २१७ घटना भएका छन् भने डढेलोका ११४ घटना दर्ज भएका छन्।
यस अवधिमा चट्याङका १४, हुरीबतासका २९, सर्पदंशका २० तथा जनावर आक्रमणका १६ घटना भएका छन्। त्यस्तै, लेक लागेर ३ र डुङ्गा पल्टेर १ घटना भएको छ। साथै पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुई वटा घटना पनि भएको जनाइएको छ।
प्राधिकरणले पछिल्लो २४ घण्टामा मात्रै ३२ वटा विपद्का घटना भएको जानकारी दिएको छ। हालसम्म कुल २७ जिल्ला विपद्को असरबाट प्रभावित भएका छन्।
विशेषज्ञहरूले मौसम परिवर्तनसँगै आगलागी, डढेलो र चट्याङजस्ता घटनामा वृद्धि भएको उल्लेख गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

