काठमाडौं– आज देशका विभिन्न भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग का अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ।
दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ। ती क्षेत्रका केही स्थानमा मेघगर्जनसहित वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने तातो दिन रहने सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोसीदेखि सुदूरपश्चिमसम्मका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने मौसमविद्को पूर्वानुमान छ।
विभागले मेघगर्जन र वर्षाका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

