काठमाडौं– भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउने क्रममा शनिबार राति झडप हुँदा २२ सुरक्षाकर्मी घाइते भएका छन्। अनधिकृत रूपमा निर्माण गरिएका घरटहरा हटाउन पुगेका सुरक्षाकर्मीमाथि स्थानीय बासिन्दाले ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्का का अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बोतल प्रहार गरिएको थियो। उनका अनुसार दिउँसो अधिकांश बासिन्दाले सामान सारिसकेपछि बेलुका डोजर प्रयोग गरी संरचना भत्काउने क्रममा एक्कासि आक्रमण भएको हो।
उक्त घटनामा नवराज ढुङ्गाना सहित ११ जना नेपाल प्रहरी घाइते भएका छन्। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत दुवाकोटबाट खटिएका थप ११ जना सशस्त्र प्रहरी पनि घाइते भएको वासुदेव महत ले जानकारी दिए।
शनिबार साँझसम्म सात पक्की घर भत्काइएको र आइतबार बिहानदेखि पुनः संरचना हटाउने कार्य जारी राखिने जनाइएको छ।
मनोहरा बस्तीमा करिब ७७७ घरटहरा रहेको अनुमान गरिएको छ। बस्तीका एक स्थानीय सुनिल लामाका अनुसार धेरै घर भाडामा लगाइएका छन् र टहरा तथा पक्की घर लाखौं रुपैयाँमा किनबेच हुने गरेको छ। उनले आफूले पनि करिब १५ वर्षअघि टहरा खरिद गरेर बसोबास गरेको बताए।
स्थानीयका अनुसार बस्तीमा केही व्यक्तिहरू नियमित रूपमा भाडा उठाउन आउने गरेका छन्। प्रभावित बासिन्दाले आफूहरूलाई वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

