काठमाडौं– सर्लाही प्रशासनले अवैध रूपमा सञ्चालित स्वास्थ्य संस्थामाथि अनुगमनलाई तीव्र बनाउँदै कारबाहीलाई निरन्तरता दिएको छ।
बिहीबार मात्र सदरमुकाम मलङ्गवामा ११ वटा अवैध स्वास्थ्य संस्था बन्द गराएको प्रशासनले शुक्रबार बरहथवा बजार क्षेत्रमा थप पाँच वटा स्वास्थ्य संस्था शिल गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे नेतृत्वको अनुगमन टोलीले दर्ता नै नभएको पाइएपछि ती संस्थामाथि कारबाही गरेको हो।
बन्द गरिएका संस्थामा आयुष्मान हेल्थ केयर, सगरमाथा ल्याब, युनिक अस्पताल, जनसेवा ल्याब र स्माइल सरोकार डेन्टल रहेका छन्। इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार ती सबै संस्था कुनै पनि सम्बन्धित निकायमा दर्ता नभई सञ्चालनमा रहेका थिए।
यस्तै, दर्ता भए पनि मापदण्ड पूरा नगरेका थप चार वटा स्वास्थ्य संस्थालाई अनुगमन टोलीले सचेत गराएको छ।
यसअघि बिहीबार मलङ्गवामा पनि ११ वटा अवैध स्वास्थ्य संस्था बन्द गराइएको थियो। प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन जारी राखेको जनाएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले नियमविपरीत सञ्चालन हुने स्वास्थ्य संस्थालाई कारबाहीसँगै जरिवाना समेत गरिने स्पष्ट पारे।

