काठमाडौं । झलनाथ खनाल ले वामपन्थी आन्दोलनको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाउँदै अबको एकताको नेतृत्व नयाँ पुस्ताले लिनुपर्ने बताएका छन्।
वाम एकताका लागि आफूले निरन्तर पहल गर्दा पनि बेवास्ता गरिएको उल्लेख गर्दै खनालले व्यंग्यात्मक शैलीमा भने, “मलाई एक्लै ढेँडु बनाइयो, अहिले सबै तोरीको फूल हेर्दैछन्।”
उनले विगतका नेताहरूबीचको प्रतिस्पर्धा र असमझदारीका कारण वाम आन्दोलन कमजोर बनेको दाबी गर्दै अबको समाधान व्यापक समीक्षा र रूपान्तरण भएको बताए।
खनालका अनुसार केवल शीर्ष नेताहरूबीचको सहमतिले वाम एकता सम्भव छैन। केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव कुमार नेपाल जस्ता पुराना नेतृत्वकै निरन्तरतामा हुने एकताले जनतामा विश्वास जगाउन नसक्ने उनको भनाइ छ।
उनले वामपन्थी शक्तिहरूले पदको मोह त्याग्दै नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवश्यकता औंल्याए। “अबको एकीकृत पार्टीको नेतृत्व नयाँ पुस्ताले सम्हाल्नुपर्छ, पुराना पुस्ताले मार्गदर्शन गर्नुपर्छ,” उनले भने।
खनालले वाम आन्दोलनलाई पुनर्जीवित गर्न नीति, सिद्धान्त र कार्यदिशामा नयाँपन आवश्यक रहेको बताए। व्यक्तिकेन्द्रित होइन, नीतिकेन्द्रित नेतृत्व आवश्यक रहेको उनको जोड छ।
साथै उनले जनताको विश्वास पुनः जित्न भूमिसुधार, कृषि विकास, औद्योगीकरण तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गरे।

