काठमाडौं– लेबनानमा जारी युद्धविरामको अवस्थामै इजरायलले गरेको आक्रमणमा कम्तीमा १४ जनाको ज्यान गएको छ भने ३७ जना घाइते भएका छन्। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार मृतकमध्ये दुई बालबालिका र दुई महिला पनि रहेका छन्।
गत साताको बिहीबार इजरायल र हिज्बुल्लाहबीच तीन साताका लागि युद्धविराम अवधि थप गर्ने सहमति भएको थियो। तर त्यसपछि पनि क्षेत्रको सुरक्षा अवस्था अस्थिर नै रहँदै आएको छ।
आक्रमणअघि इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी लेबनानका केही गाउँका बासिन्दालाई तत्काल सुरक्षित स्थानतर्फ सर्न चेतावनी दिएको थियो। त्यहाँ बसिरहनु जोखिमपूर्ण हुने भन्दै पूर्वसूचना जारी गरिएको थियो।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेना सक्रिय रूपमा परिचालन गरिएको र आवश्यक कारबाही भइरहेको बताएका छन्। उनले हिज्बुल्लाहका गतिविधिले युद्धविरामको उल्लङ्घन गरिरहेको आरोप पनि लगाएका छन्।
यस घटनापछि लेबनान–इजरायल सीमा क्षेत्रमा तनाव झन् बढेको छ। अन्तर्राष्ट्रिय समुदायले परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै संयमता अपनाउन आग्रह गरेको छ।