काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमबासी बस्ती हटाउने क्रममा प्रभावित विद्यार्थीहरूको पढाइ र परीक्षामा असर नपरोस् भन्ने उद्देश्यले ६ बुँदे सर्कुलर जारी गरेको छ।
मन्त्री सस्मित पोखरेलको निर्देशनपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका स्थानीय तह र सरोकारवालालाई लक्षित गर्दै यस्तो सर्कुलर जारी गरेको हो। सर्कुलरमा बस्ती हटाउँदा विद्यार्थीको सुरक्षा, पढाइ निरन्तरता र परीक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्न भनिएको छ।
केन्द्रले प्रभावित विद्यार्थीलाई पायक पर्ने नजिकका विद्यालयमा स्थानान्तरण गर्न स्थानीय तहलाई सहजीकरण गर्न आग्रह गरेको छ। साथै, बस्ती हटाइँदा विद्यालय नै प्रभावित भएको अवस्थामा वैकल्पिक व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
विशेषगरी हाल सञ्चालनमा रहेको कक्षा १२ को परीक्षालाई ध्यानमा राख्दै परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ। कुनै विद्यार्थी परीक्षा दिनबाट वञ्चित नहोस् भन्नेमा मन्त्रालयले विशेष जोड दिएको छ।
यस कदमले सुकुमबासी बस्ती हटाउने कार्यका बीच पनि विद्यार्थीको शैक्षिक अधिकार सुनिश्चित गर्ने सरकारको प्रयासलाई संकेत गरेको छ।