काठमाडौं– माइतीघर मण्डलामा धर्ना दिँदै आएकी शोभा पाठकमाथि हातपात भएको छ। घटनापछि उनलाई उपचारका लागि वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार धर्नाका क्रममा भएको झडपमा घाइते भएकी पाठकलाई तत्काल उपचारका लागि अस्पताल लगिएको हो।
घटनामा संलग्न रहेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई हाल प्रहरी परिसर भद्रकालीमा राखिएको छ।
पाठकले यसअघि एमाले नेता महेश बस्नेतमाथि आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाहीको माग गर्दै आएकी थिइन्। पछिल्लो समय भने उनी विवादपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङको पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना दिँदै आएकी थिइन्।
सोही धर्नाका क्रममा विवाद चर्किँदा उनीमाथि हातपात भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

