काठमाडौं । देशभर मंगलबार वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा पानी पर्नेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। विशेषगरी कोसी प्रदेशका धेरै स्थानहरूमा वर्षा हुने देखिएको छ।

विभागले रातिको समयमा कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। यसले पहाडी तथा हिमाली क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

दिउँसो देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली कायम रहने विभागको भनाइ छ।

मौसममा आएको परिवर्तनका कारण यात्रु, किसान तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ।