काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले आफ्ना प्रिपेड सेवाअन्तर्गत रहेका २८ दिन अवधिका सबै प्याकेजको समयावधि बढाएर ३० दिन पुर्याएको छ। नयाँ व्यवस्था वैशाख ११ गतेदेखि लागू भएको टेलिकमले जनाएको छ।
यसअघि ‘कम्बो–२९९ प्याक’को अवधि चैत २४ गतेदेखि नै ३० दिन बनाइसकिएको थियो भने अब सबै समान प्रकृतिका प्याकेजमा पनि यही व्यवस्था विस्तार गरिएको हो। यस क्रममा केही प्याकेजमा मूल्य समायोजनसमेत गरिएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन्।
नयाँ व्यवस्थासँगै ग्राहकले अब महिनामा एकपटक मात्र रिचार्ज गर्दा पुग्नेछ, जसले सेवाको प्रयोगलाई अझ सहज बनाउने अपेक्षा गरिएको छ। साथै, उही शुल्कमा दुई दिन थप सेवा पाउने भएकाले डेटा, भ्वाइस र एसएमएसमा अतिरिक्त लाभ प्राप्त हुनेछ।
टेलिकमले यो निर्णयलाई उपभोक्तामैत्री सुधारका रूपमा लिएको छ। यसले ग्राहक सन्तुष्टि बढाउनुका साथै दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा अझ प्रभावकारी बनाउने विश्वास गरिएको छ।

