काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक २६.१६ अंकले घट्दै २७७० अंकमा झरेको हो। अघिल्लो कारोबार दिन भने बजार सामान्य रूपमा ७.७ अंकले बढेको थियो।

बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ७४ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ६ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ।

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे पनि त्यसको सकारात्मक प्रभाव बजारमा देखिएन। अधिकांश संस्थाको नाफा र प्रतिसेयर आम्दानीमा सुधार देखिएको छ भने लोन लस प्रोभिजन पनि केही घटेको छ। धेरै संस्थाहरू लाभांश दिन सक्ने अवस्थामा देखिए पनि नउठेको ब्याज र साँवा असुली चुनौतीका रूपमा कायम रहँदा लगानीकर्तामा आत्मविश्वास बढ्न सकेन।

यसैबीच उद्योगी–व्यवसायीमाथि भइरहेको पछिल्लो धरपकडको असर पनि बजारमा देखिएको विश्लेषण गरिएको छ। केही दिनयता बजारमा सामान्य उतारचढाव देखिए पनि समग्र प्रवृत्ति भने घट्दो नै रहेको छ।

मंगलबार कुल ४२ कम्पनीको शेयर मूल्य बढ्दा २१३ कम्पनीको घटेको छ भने १४ कम्पनी स्थिर रहेका छन्। समूहगत रूपमा हेर्दा ‘अन्य’ समूह बाहेक सबै सूचक घटेका छन्। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ भने उत्पादन तथा प्रशोधन समूह २.४६ प्रतिशतले ओरालो लागेको छ।

त्यस्तै बैंकिङ, विकास बैंक, हाइड्रोपावर, लगानी, बीमा, माइक्रोफाइनान्स र व्यापार समूहका सूचकहरू पनि घटेका छन्।

व्यक्तिगत कम्पनीतर्फ कुनै पनि कम्पनीको मूल्य दोहोरो अंकले बढ्न सकेन। केही डिबेन्चरहरूमा सामान्य वृद्धि देखिए पनि समग्र बजारमा गिरावट हावी रह्यो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले घटेको छ भने अन्य केही हाइड्रोपावर र होटल कम्पनीहरूमा पनि उच्च गिरावट देखिएको छ।

कारोबारका आधारमा पाल्पा सिमेन्ट इन्डस्ट्रिज, रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सोलु हाइड्रोपावर र कुमारी बैंक अग्रस्थानमा रहेका छन्।

समग्रमा, सकारात्मक वित्तीय विवरण सार्वजनिक हुँदा पनि बजारमा त्यसको प्रभाव नपर्नुले लगानीकर्ताको मनोबल कमजोर रहेको संकेत गरेको छ।