काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा निरन्तर गिरावट देखिएको छ। पछिल्ला दुई दिनमा सुनको भाउ तोलामा ६ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ। सोमबार प्रतितोला ३ लाख ५ सय रुपैयाँ रहेको सुन मंगलबार ३ हजारले घट्दै २ लाख ९७ हजार ५ सयमा झरेको थियो भने आज फेरि ३ हजार रुपैयाँ घटेको हो।
गत बुधबार पनि सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमै कारोबार भएको थियो। यसअघि माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ।
यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ९४५ रुपैयाँ रहेको चाँदी बुधबार ३० रुपैयाँले घट्दै ४ हजार ९१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ। एक साताअघि चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँसम्म पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्।