लमजुङ । अविरल हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ सडकखण्ड अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० स्थित विमिरे भञ्ज्याङ क्षेत्रमा पहिरो खस्दा बुधबार बिहानदेखि यातायात पूर्ण रूपमा ठप्प भएको हो।

जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार गएरातिदेखि निरन्तर वर्षा भइरहेका कारण पहिरो खसेको हो। “लगातार वर्षा भइरहेकाले पहिरो हटाउन कठिन भइरहेको छ, जसले गर्दा सवारी आवागमन सञ्चालन हुन सकेको छैन,” उनले बताए।

प्रहरीका अनुसार सडक खुलाउने प्रयास भइरहे पनि वर्षा नरोकिँदासम्म तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने देखिएको छ। यस क्षेत्रमा पर्ने विभिन्न खोलाहरूमा पानीको बहाव उच्च रहेकाले जोखिम थपिएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ। मौसम सुधार भएसँगै पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।