काठमाडौं । इन्धनको मूल्यमा भएको निरन्तर वृद्धिसँगै सार्वजनिक यातायातको भाडा फेरि बढाइएको छ। यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडा बुधबारदेखि लागू हुने गरी समायोजन गरेको जनाएको छ।

विभागका अनुसार अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक तथा तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीमा समान रूपमा ५ प्रतिशतका दरले भाडा वृद्धि गरिएको हो।

यसअघि पनि चैत २५ गते सार्वजनिक यातायातको भाडा बढाइएको थियो। पछिल्लो वृद्धि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैशाख १२ गतेको सहमतिअनुसार लागू गरिएको विभागले स्पष्ट पारेको छ।

हाल बजारमा डिजेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा पुगेको छ, जसका कारण भाडा समायोजन गर्नुपरेको विभागको भनाइ छ।

यद्यपि, विद्युतीय सवारीसाधनका हकमा भने भाडा वृद्धि लागू नहुने स्पष्ट पारिएको छ। विभागले विद्युतीय सवारीले मनपरी भाडा बढाए कारबाही गरिने चेतावनी समेत दिएको छ।