काठमाडौं । लालीबजार चलचित्रको प्रदर्शनमा उच्च अदालत पाटनले अल्पकालीन रोक लगाएपछि चलचित्रकर्मीहरू सडकमा उत्रिएका छन्। अदालतको आदेशपछि मंगलबार तय गरिएको प्रिमियर रद्द गरिएको थियो।
बादी समुदायको कथामा आधारित उक्त फिल्ममा स्वस्तिमा खड्का शीर्ष भूमिकामा छिन्। निर्माण पक्षका अनुसार फिल्मले ‘नथिया कुप्रथा’ जस्ता संवेदनशील सामाजिक विषय उठान गरेको छ।
फिल्मले समुदायको चरित्रमाथि नकारात्मक प्रभाव पार्न सक्ने भन्दै रोशनी नेपालीले अदालतमा रिट दर्ता गरेकी थिइन्। सोही रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रदर्शनमा अस्थायी रोक लगाएको हो। दुवै पक्षलाई वैशाख २२ गते छलफलका लागि बोलाइएको छ।
अदालतको आदेशको सम्मान गर्दै निर्माण पक्षले अन्तिम समयमा प्रिमियर स्थगित गरेको जनाएको छ। यम थापा निर्देशित यो फिल्म षट्कोण आर्टस्को ब्यानरमा निर्माण गरिएको हो।
प्रदर्शनमा रोक लगाएपछि चलचित्रकर्मीहरूले माइतीघर मण्डलमा विरोध जनाएका छन्। उनीहरूले १५ मिनेट मौन प्रदर्शनपछि प्लेकार्डसहित अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाएका थिए।
विरोधमा प्रदीप भट्टराई, रवीन्द्रसिंह बानियाँ, म्याक्स दीपेश खत्रीलगायत चलचित्रकर्मी तथा पत्रकारहरू सहभागी भएका थिए।

