काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र अनधिकृत प्रवेश, भिडियो/फोटो खिच्ने र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने गतिविधि तत्काल रोक्न कडा निर्देशन दिएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय केही व्यक्तिहरू अस्पताल परिसरमा बिना अनुमति प्रवेश गरी बिरामी र स्वास्थ्यकर्मीको फोटो तथा भिडियो खिच्ने, उपचार प्रक्रियामा अवरोध पुर्‍याउने तथा अनावश्यक दबाब दिने घटनाहरू बढेको उल्लेख गरिएको छ।

यस्ता गतिविधिले बिरामीको गोपनीयता हनन गर्नुका साथै संवेदनशील उपचार प्रक्रियामा गम्भीर असर पर्ने मन्त्रालयको भनाइ छ। साथै, स्वास्थ्यकर्मीमाथि हातपात, गालीगलौज वा धम्की दिनु प्रचलित कानूनअनुसार दण्डनीय अपराध रहेको स्पष्ट पारिएको छ।

मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ र मुलुकी अपराध संहिताअनुसार यस्ता कार्यमा संलग्नलाई कडा कारबाही हुने चेतावनी दिएको छ।

साथै, उपचारमा कमजोरी भएको महसुस भएमा सम्बन्धित निकायमा उजुरी दिन सकिने व्यवस्था रहेको उल्लेख गर्दै कानूनविपरीत गतिविधि नगर्न सबैलाई अनुरोध गरिएको छ।