काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौथो कारोबार दिन बिहीबार सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से ५.७३ अंकले घट्दै २७८३.७२ विन्दुमा पुगेको हो। यसअघि बुधबार २५.८१ अंक र मंगलबार २६.१६ अंकले परिसूचक घटेको थियो।
नेप्सेमा लगातार गिरावट देखिए पनि बिहीबार कारोबार रकम बुधबारको तुलनामा केही घटेको छ। यस दिन कुल ३४६ कम्पनीका १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर ४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीमा खरिद–बिक्री भए। बुधबार भने ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन। तर, श्रीनगर एग्रिटेक इन्डस्ट्रिजको सेयर १२.५७ प्रतिशतले बढ्दै सर्वाधिक लाभमा रह्यो। त्यस्तै शिखर पावर डेभलपमेन्ट, एशियन हाइड्रोपावर, रिभर फल्स पावर र एसवाई प्यानल नेपालको सेयर मूल्य पनि बढेको देखियो।
उता कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १०.३८ प्रतिशतले घट्दा माइ खोला हाइड्रोपावरको पनि उल्लेख्य गिरावट आयो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रह्यो, जसको सेयर कारोबार २६ करोड रुपैयाँ पुगेको छ। आँधी खोला जलविद्युत कम्पनी, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पनि उच्च कारोबार गर्ने कम्पनीमा परे।
समग्रमा कारोबार भएका मध्ये ९८ वटा स्टकको मूल्य बढ्दा १६१ वटाको घटेको छ भने १० वटा स्थिर रहेका छन्। बैंकिङ र म्युचुअल फन्ड समूहबाहेक सबै उपसूचक नकारात्मक देखिएको नेप्सेले जनाएको छ।

