काठमाडौं । रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमा १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्लाको थबाङ गाउँपालिका–१ जलजला क्षेत्रमा लाग्ने वैशाख पूर्णिमा जात्रामा सहभागी हुन रुकुम पूर्वबाट गइरहेको जीप बिहीबार दिउँसो दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार उक्त जीप सडकबाट करिब ८०० मिटर तल भीरमा खसेको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार कार्य जारी रहेको छ।
प्रहरीले जीपमा सवार यात्रुको यकिन संख्या अझै खुल्न नसकेको जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र घाइतेहरूको उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

