काठमाडौँ – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ। निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि लागू हुने गरी ग्यासको मूल्य प्रतिशिलिन्डर १५० रुपैयाँले बढाएको जनाएको हो।
नयाँ समायोजनसँगै अब १४.२ केजी क्षमताको एलपी ग्यास सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ। यसअघि सोही सिलिन्डरको मूल्य २०१० रुपैयाँ थियो।
त्यस्तै, ७.१ केजी क्षमताको आधा सिलिन्डरको मूल्य पनि बढेर १०८० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य वृद्धि र आयात लागत बढेकाले मूल्य समायोजन गर्न बाध्य भएको हो। मूल्यवृद्धिसँगै उपभोक्तामा थप आर्थिक भार पर्ने देखिएको छ।