काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः समायोजन गरेको छ। निगमले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि र आयात लागत बढेकाले नयाँ मूल्य लागू गरिएको जनाएको हो।
निगमका अनुसार नयाँ मूल्य शुक्रबार बिहान १२ बजेदेखि लागू भएको छ। समायोजनअनुसार पेट्रोल र डिजेल/मट्टितेलको मूल्य केही घटाइएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिशिलिन्डर १५० रुपैयाँले बढाइएको छ।
अब १४.२ केजीको एलपी ग्यास सिलिन्डरको मूल्य २१६० रुपैयाँ पुगेको छ भने ७.१ केजीको आधा सिलिन्डर १०८० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँसम्म घटाइएको निगमले जनाएको छ। हवाई इन्धनतर्फ आन्तरिक उडानमा प्रतिलिटर ७ रुपैयाँले कमी गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि मूल्य बढाइएको छ।
निगमले इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
यद्यपि मूल्य समायोजनपछि पनि निगमलाई मासिक रूपमा ठूलो घाटा भइरहेको जनाउँदै निगमले उपभोक्तालाई इन्धनको मितव्ययी प्रयोग गर्न आग्रह गरेको छ।

