काठमाडौं । कमल थापाले बालेन शाह नेतृत्वको कामको पूर्ण मूल्याङ्कन गर्ने समय अझै नपुगेको बताएका छन्। तर सुशासनको क्षेत्रमा प्रारम्भिक रूपमा देखिएका प्रयासहरू सकारात्मक रहेको उनले उल्लेख गरेका छन्।
मे दिवसको अवसरमा ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले मुलुक, जनता र प्रजातन्त्रको हितमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। उनले समाजका विभिन्न क्षेत्रमा देखिएको राजनीतिक हस्तक्षेप र दलियकरण कम गर्न केही सकारात्मक कदम चालिएको भन्दै प्रशंसा पनि गरे।
थापाका अनुसार आर्थिक विकास बिना मुलुकको समग्र विकास सम्भव छैन। उनले दीर्घकालीन महत्वका योजनाहरू कसरी अगाडि बढ्छन् भन्ने विषय प्रतीक्षाको रहेको बताए।
राजनीतिक सन्दर्भमा उनले नेपाली कांग्रेस र नेकपा एमालेको पुनरुत्थान सहज नहुने दाबी गर्दै पछिल्लो समय जनस्तरमा ती दलप्रति आक्रोश बढेको उल्लेख गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस–एमालेका एजेन्डा बोकेको दाबी गर्दै अब वैकल्पिक राजनीतिक शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी नै बन्न सक्ने बताएका छन्।
पार्टीभित्रको गुट–उपगुट अन्त्य गरी एकीकृत र आत्मीय वातावरणमा संगठन बलियो बनाउन उनले नेताकार्यकर्तालाई आग्रह गरे। राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिको आवश्यकता अझै बढेको उनको भनाइ थियो।
कार्यक्रममा श्रमिक राजु तामाङलाई सम्मान गरिएको थियो। साथै टुकोनका अध्यक्ष हिक्मतजङ्ग भण्डारीले पनि मन्तव्य राखेका थिए।

