काठमाडौं – प्रविधि पत्रकार मञ्च (टीजेएफ) र ह्वावे नेपालको संयुक्त आयोजनामा ‘टेक फर्वार्ड: मिडिया डायलग २०२६’ कार्यक्रम सम्पन्न भएको छ।
हात्तिसारस्थित ह्वावे टावरमा आयोजित कार्यक्रममा सूचना प्रविधि, डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रभावबारे विज्ञ र सञ्चारकर्मीबीच विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा बोल्दै ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत चेन केयाङ ले नेपालमा प्रविधि क्षेत्रको विकासप्रति आफू उत्साहित रहेको बताए। दक्ष जनशक्ति भए पनि आईसीटी विकासमा नेपाल छिमेकी देशहरूभन्दा केही पछाडि रहेको उल्लेख गर्दै उनले यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने धारणा राखे।
उनले दूरसञ्चार क्षेत्रको दिगो विकासका लागि नियामक निकाय, सरकार, सेवा प्रदायक, निजी क्षेत्र र मिडियाबीच समन्वय अपरिहार्य रहेको बताए।
कार्यक्रममा नेपालमा फाइभजी प्रविधि विस्तारका सम्भावना र चुनौतीबारे विशेष चर्चा भएको थियो। विज्ञहरूले तत्काल पूर्ण (स्ट्यान्ड-अलोन) फाइभजी पूर्वाधार विकास चुनौतीपूर्ण हुने भन्दै हालको फोरजी पूर्वाधारमा आधारित नन–स्ट्यान्डअलोन प्रविधि उपयुक्त विकल्प हुन सक्ने बताएका छन्।
नेपालले प्रारम्भिक चरणमै थ्रीजी भित्र्याए पनि फाइभजी कार्यान्वयनमा भने ढिलाइ भइरहेको सहभागीहरूको धारणा थियो। नियामक नेपाल दूरसञ्चार प्राधिकरण, सेवा प्रदायक र सरकारबीच पर्याप्त समन्वय अभावले प्रगति सुस्त भएको औँल्याइएको छ।
टीजेएफका अध्यक्ष पूर्ण दुवाल ले डिजिटल युगमा प्रविधि पत्रकारिताको भूमिका झनै महत्वपूर्ण बन्दै गएको बताए। तथ्यपरक सूचना प्रवाह, डिजिटल साक्षरता र जिम्मेवार पत्रकारितालाई सुदृढ गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।
कार्यक्रममा एआई, डेटा सेन्टर, फाइभजी, नवीकरणीय ऊर्जा र मोबाइल ब्रोडब्यान्डजस्ता विषयमा प्रस्तुतीकरण गरिएको थियो। ह्वावे इन्टरप्राइजेजका निर्देशक प्रदीप पन्हौर ले एआईको प्रयोगले उत्पादकत्व वृद्धि र निर्णय प्रक्रियामा सुधार ल्याउने बताए।
त्यसैगरी डेटा सेन्टर विज्ञ रोहितचन्द्र शाह ले डिजिटल अर्थतन्त्रमा सुरक्षित र उच्च क्षमतायुक्त डेटा सेन्टरको आवश्यकता औँल्याए।
फाइभजी प्रविधिबारे प्रस्तुतीकरण गर्दै प्रभात रेग्मी ले यसले स्मार्ट सिटी, इन्टरनेट अफ थिङ्स (आईओटी) र डिजिटल सेवामा नयाँ सम्भावना सिर्जना गर्ने बताए।
कार्यक्रममा सहभागीहरूले साइबर सुरक्षा, डेटा गोपनीयता, डिजिटल रूपान्तरणका चुनौती र अवसरबारे अन्तरक्रिया गरेका थिए।
टीजेएफका उपाध्यक्ष गणेश सुवेदी ले प्रविधि र मिडियाबीच सहकार्य विस्तार तथा पत्रकारहरूको क्षमता अभिवृद्धिमा जोड दिए।
कार्यक्रमको समापनमा ह्वावे नेपालका कर्पोरेट अफेयर्स म्यानेजर आशित अधिकारी ले ह्वावेले विगत २७ वर्षदेखि नेपालमा सेवा दिँदै आएको उल्लेख गर्दै सामाजिक तथा आर्थिक रूपान्तरणमा योगदान जारी राख्ने बताए।
हाल विश्वका १७० भन्दा बढी देशमा सेवा दिइरहेको ह्वावेले करिब २ लाखभन्दा बढीलाई रोजगारी प्रदान गरेको जानकारी पनि कार्यक्रममा दिइयो।

