काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने निर्णय गरेको छ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित सदस्यता व्यवस्थापनसम्बन्धी बैठकमा यस विषयमा विस्तृत छलफल भएको संगठन विभागका संयोजक तथा केन्द्रीय सचिव भानुभक्त ढकालले जानकारी दिए। उनका अनुसार डिजिटल प्रणालीमार्फत सदस्यता वितरण, नवीकरण तथा अभिलेखीकरणलाई व्यवस्थित गर्ने तयारी गरिएको छ।
बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, प्रदेशस्तरका नेताहरू तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सो अवसरमा प्रस्तावित डिजिटल सदस्यता प्रणालीको प्रारूप, प्रविधिगत संरचना र कार्यान्वयन प्रक्रियाबारे प्रस्तुति प्रस्तुत गर्दै सुझावहरू संकलन गरिएको बताइएको छ।
त्यसैगरी, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी संगठनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
एमालेले डिजिटल प्रविधिको प्रयोगमार्फत संगठनलाई आधुनिक र सुदृढ बनाउने लक्ष्यसहित सदस्यता व्यवस्थापन प्रणालीमा सुधार गर्न लागेको जनाएको छ।

