काठमाडौँ । पोखराको पृथ्वीचोकमा निर्माण गर्ने भनिएको बसपार्कको योजना पाँच दशक बितिसक्दा पनि कार्यान्वयन हुन नसक्दा छुट्याइएको जग्गा उल्लेखनीय रूपमा घटेको छ। विसं २०३२ मा २०५ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण गर्ने योजना अघि सारिए पनि हाल उक्त जग्गा खुम्चिएर करिब ४७ रोपनीमा सीमित भएको छ।

बसपार्क निर्माणमा ढिलाइ हुँदा उक्त क्षेत्र अहिले सुकुमवासी बस्तीमा परिणत भएको छ। पोखरा महानगरपालिकाको अध्ययनअनुसार बसपार्क क्षेत्रभित्र ४०० भन्दा बढी सुकुमवासी परिवार बसोबास गर्दै आएका छन्। यसै कारण पृथ्वीचोक क्षेत्रमा बसपार्कको अभावमा सडक पेटीबाटै लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुँदा दैनिक रूपमा ट्राफिक जाम र अव्यवस्था देखिँदै आएको छ।

पछिल्लो समय महानगरपालिकाले अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेपछि स्थानीय सुकुमवासीहरू चिन्तित बनेका छन्। उनीहरूले उचित वैकल्पिक व्यवस्थापन नगरी आफूहरूलाई हटाउन नहुने माग गरेका छन्।

स्थानीय रुपा केसीले सुकुमवासीहरू विकासको विरोधी नभएको स्पष्ट पार्दै उचित व्यवस्थापन भएमा स्थान छोड्न तयार रहेको बताइन्। त्यस्तै, भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समितिका संयोजक प्रेमबहादुर गुरुङले पहिले वैकल्पिक बसोबासको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।

यता मजदुर नेता रुद्र गौतमले भने बसपार्क निर्माणका लागि छुट्याइएको सम्पूर्ण २०५ रोपनी जग्गा फिर्ता गरिनुपर्ने र त्यसपछि मात्र संरचना हटाउने काम अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले विगतमा पहुँच र शक्तिको दुरुपयोग गरी बसपार्कको जग्गा किनबेच भएको आरोपसमेत लगाएका छन्।

स्थानीयवासी, सुकुमवासी र महानगरबीच सहमति कायम गरेर मात्र बसपार्क निर्माण प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ।