काठमाडौं – नेपाल सरकारले आर्थिक विकासको प्रमुख आधार मानिएको निजी क्षेत्रको संरक्षण र प्रवर्द्धनका लागि नयाँ रणनीति ल्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ‘निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन रणनीति’ तर्जुमा गर्ने प्रस्ताव पारित गरेको हो।
नेपाल उद्योग वाणिज्य महासंघ को ६०औँ वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले निजी क्षेत्रको भूमिकाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको र सहकार्यमार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले राज्यका नीतिहरू निजी क्षेत्रमैत्री हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा मन्त्री वाग्लेले वर्तमान अध्यक्ष चन्द्र ढकाल को कार्यकालको प्रशंसा गर्दै आगामी नेतृत्व सम्हाल्न लागेका अन्जन श्रेष्ठ लाई सफल कार्यकालको शुभकामना दिएका छन्।
सरकारले आगामी सात वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरको आकारमा पुर्याउने महत्वाकांक्षी लक्ष्य लिएको छ। उक्त लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय सहभागिता अपरिहार्य रहेको मन्त्री वाग्लेको भनाइ छ।
उनले रोजगारी सिर्जना र आर्थिक विस्तारमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सरकारी बजेटभन्दा निजी क्षेत्रको लगानी कयौँ गुणा बढी प्रभावकारी हुने बताए। हाल नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) करिब ६६ खर्ब पुगेको र आगामी दिनमा १२ प्रतिशत नोमिनल तथा ६–७ प्रतिशत वास्तविक आर्थिक वृद्धिको लक्ष्य राखिएको जानकारी उनले दिए।
महासंघको निर्वाचन सन्दर्भमा मन्त्री वाग्लेले दलीय गुटबन्दीबाट टाढा रहन आग्रह गर्दै स्वच्छ प्रतिस्पर्धाबाट योग्य नेतृत्व चयन गर्न सुझाव दिएका छन्। निजी क्षेत्र एकजुट भएर अघि बढेमा राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उनको विश्वास छ।

