काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिएको छ।

गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई आवश्यक शर्तसहित रिहा गर्नुपर्ने ठहर गरेको हो। अदालतले धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै थुनामा राखिएको भन्दै त्यससम्बन्धी प्रक्रिया खारेज गरिदिएको छ।

न्यायाधीश महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले अनुसन्धानका लागि थुनामा राख्ने निर्णय कानुनी रूपमा उपयुक्त नरहेको निष्कर्ष निकालेको हो।

शेखर गोल्छा गत ११ वैशाखमा पक्राउ परेका थिए। नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई नियन्त्रणमा लिएको थियो।

अदालतको पछिल्लो आदेशसँगै अब उनी धरौटी वा जमानतमा रिहा हुने बाटो खुलेको छ।