काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको अन्तिम खेलमा आज आयोजक नेपाल र ओमानबीच आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुने यो खेल नेपालका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
घरेलु मैदानमा जारी शृङ्खलामा नेपालले यूएईविरुद्ध दुई महत्वपूर्ण जित हात पारेको छ भने ओमानसँगको पहिलो खेलमा भने ठूलो अन्तरले पराजित भएको थियो। आजको खेल जित्दै अघिल्लो हारको बदला लिने र अंकतालिकामा सुधार गर्ने लक्ष्य नेपालसँग छ।
शृङ्खलाको सुरुआती खेलमा नेपालले यूएईलाई ३७ रनले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग १०२ रनले पराजित भएको थियो। त्यसपछि भएको तेस्रो खेलमा नेपालले यूएईमाथि ६ रनको रोमाञ्चक जित निकाल्दै आत्मविश्वास बढाएको थियो।
अंकतालिकामा ओमान ३१ अंकसहित तेस्रो स्थानमा रहेको छ भने नेपाल १६ अंकसहित नवौं स्थानमा छ। ओमानले २७ खेलमा १४ जित निकाल्दा नेपालले २३ खेलमा ७ जित मात्र हात पारेको छ।
त्रिवि मैदानमा अहिलेसम्म ओमानसँग अपराजित रहँदै आएको तथ्यले पनि नेपालमाथि थप दबाब सिर्जना गरेको छ। आजको खेल जितेमा नेपालका लागि विश्वकप छनोट यात्रामा ठूलो राहत मिल्नेछ।

