काठमाडौं – यूएईको फुजैराहस्थित तेल बन्दरगाहमा रहेको सरकारी तेल कम्पनीसँग सम्बन्धित ट्यांकरमा आक्रमण भएपछि मध्यपूर्वमा तनाव चर्किएको छ। उक्त आक्रमणपछि ठूलो आगलागी भएको र कम्तीमा तीन जना घाइते भएको यूएईका अधिकारीहरूले जनाएका छन्।
यूएईले आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत १२ वटा ब्यालिस्टिक क्षेप्यास्त्र, तीन वटा क्रुज मिसाइल र चार वटा ड्रोनलाई निष्क्रिय पारेको दाबी गरेको छ। घटनालाई ‘खतरनाक’ भन्दै यूएईले आवश्यक प्रतिक्रिया जनाउने अधिकार सुरक्षित राखेको जनाएको छ।
यस आक्रमणमा इरानको संलग्नता रहेको आशंका गरिए पनि इरानले भने त्यसलाई अस्वीकार गरेको छ। इरानी सरकारी सञ्चारमाध्यममार्फत एक सैनिक अधिकारीले यूएईलाई निशाना बनाउने कुनै योजना नभएको बताएका छन्।
घटनापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। प्रतिव्यारेल ११५ डलर नाघ्दै एकै दिनमा पाँच प्रतिशतभन्दा बढी वृद्धि भएको जनाइएको छ।
रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज नजिकै पर्ने फुजैराह बन्दरगाहबाट पाइपलाइनमार्फत तेल आपूर्ति हुने भएकाले यस क्षेत्रमा तनाव बढ्दा विश्व ऊर्जा आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ।
दक्षिण कोरीयाले यूएई नजिकै रोकिएको आफ्नै जहाजमा विस्फोट भएको जनाएको छ भने ओमनमा पनि स्ट्रेट अफ होर्मुज नजिकै आक्रमण हुँदा दुई जना घाइते भएका छन्। कतारले घटनाको निन्दा गर्दै जलमार्ग खुला राख्न माग गरेको छ।
उता ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अभियानमार्फत अलपत्र जहाजहरू सुरक्षित निकाल्ने घोषणा गरेका छन्। अमेरिकाले सोमबार इरानी साना डुंगामाथि कारबाही गरेको जनाइएको छ। ट्रम्पले मानवीय प्रयासमा अवरोध भए बल प्रयोग गर्नेसम्मको चेतावनी दिएका छन्।

