काठमाडौं । आज देशका विभिन्न क्षेत्रमा मौसममा उल्लेखनीय परिवर्तन देखिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार दिउँसोदेखि पश्चिम तराई क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना रहनेछ भने राति मध्य तथा पूर्वी तराईतर्फ यसको प्रभाव फैलिन सक्ने अनुमान गरिएको छ।

दिउँसो लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, दाङ, रुपन्देही, कपिलवस्तु लगायत जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। स्थानीय तहहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ भने कृषक तथा सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन भनिएको छ।

यसैगरी रातिको समयमा मधेश प्रदेश का बारा, पर्सा, रौतहट, साथै रुपन्देही र कपिलवस्तुका केही भागमा पनि हावाहुरीको जोखिम रहने बताइएको छ। मौसमविद्हरूका अनुसार हावाहुरीसँगै मेघगर्जन र चट्याङको सम्भावना पनि रहेको छ।

विभागले विशेषगरी खुला स्थानमा रहेका संरचना, सवारी साधन र विद्युत् संरचनामा असर पर्न सक्ने भएकाले सचेत रहन अनुरोध गरेको छ। साथै अनावश्यक रूपमा बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न सुझाव दिइएको छ।