काठमाडौँ — काठमाडौँका विभिन्न स्थानबाट सुकुम्बासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको व्यवस्थापनका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सञ्चालन गरिएको तथ्यांक संकलन कार्य तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म ३ हजार १ सय ११ परिवारले आफ्नो नाम दर्ता गराएका छन्।
बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले वैशाख १२ गतेदेखि संयुक्त रूपमा सुरु गरेको यस अभियानअन्तर्गत रंगशालाभित्र विभिन्न डेस्क स्थापना गरी प्रभावित परिवारहरूबाट विस्तृत विवरण संकलन गरिँदै आएको छ।
दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन छुट्टाछुट्टै काउण्टरमार्फत फारम भर्ने, कागजात प्रमाणीकरण गर्ने तथा आवश्यक जानकारी लिने कार्य भइरहेको छ। प्रभावित नागरिकहरूको सहजताका लागि स्वास्थ्य परीक्षण, खानपान तथा राष्ट्रिय परिचयपत्र दर्ता जस्ता सेवा पनि एकै स्थानमा उपलब्ध गराइएको छ।
काठमाडौं महानगरपालिकाले सम्पूर्ण व्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हाल्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ। सम्बन्धित निकायहरूले संकलित तथ्यांकका आधारमा आगामी पुनर्स्थापना तथा सहयोग कार्यक्रम अघि बढाइने बताएका छन्।

