काठमाडौँ । उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकविरुद्ध ट्राफिक प्रहरीले व्यापक कारबाही गरेको छ। बितेका २४ घण्टामा मात्रै दुई हजार २१८ चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नियम उल्लंघन गर्ने चालकबाट कुल ६ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने ८६ जना रहेका छन् भने नियम विपरीत ‘राइड सेयरिङ’ गर्ने १७० जनालाई समेत कारबाही गरिएको छ। त्यसैगरी ट्राफिक संकेत उल्लंघन गर्ने १४८ र तीव्र गतिमा सवारी चलाउने १३९ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।
यसैगरी ‘लेन’ अनुशासन पालना नगर्ने ९४, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा पार्किङ गर्ने १३८, एकतर्फी सडकमा सवारी चलाउने ११० र अन्य विभिन्न नियम उल्लंघन गर्ने एक हजार १२५ जनालाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सवारी नियमको पालना गर्न सबै चालकलाई अनुरोध गर्दै यस्तो कारबाहीलाई अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

