काठमाडौं । विशेष अदालतले मनि लाउण्डरिङ मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

बुधबार न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो। अग्रवालको हकमा छैटौँ पटक र भट्टको हकमा पाँचौँ पटक म्याद थप भएको हो।

सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँगको समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो भने अग्रवाललाई चैत २२ गते नियन्त्रणमा लिइएको थियो।
उनीहरूमाथि अवैध रूपमा आर्जित सम्पत्ति लुकाएको आरोपमा अनुसन्धान भइरहेको छ।