काठमाडौं । सङ्घीय संसद् सचिवालयले संसद् बैठकलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली लागू गर्ने तयारी थालेको छ । सोही तयारीअन्तर्गत सांसदहरूको बायोमेट्रिक विवरण संकलन तथा औपचारिक तस्बिर खिच्ने कार्य सुरु गरिएको सचिवालयले जनाएको छ ।
बिहीबार जारी सूचनामार्फत सचिवालयले सबै सांसदलाई तोकिएको मिति, समय र सभाकक्षमा अनिवार्य उपस्थित हुन आग्रह गरेको हो । सचिवालयका अनुसार बायोमेट्रिक विवरणसँगै सांसदहरूको औपचारिक फोटोसमेत खिचिने भएकाले संघीय संसद्को लोगो सहित औपचारिक पोशाकमा उपस्थित हुन भनिएको छ ।
सूचनाअनुसार विभिन्न संसदीय समितिका सदस्यहरूलाई छुट्टाछुट्टै समय तालिका बनाएर उपस्थित हुन निर्देशन दिइएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यटन, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरूलाई बिहीबार बिहान बोलाइएको छ भने उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित तथा कानून, न्याय तथा मानवअधिकार समितिका सदस्यहरूलाई दिउँसो उपस्थित हुन भनिएको छ ।
त्यसैगरी शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिलालगायत समितिका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन गरिनेछ । सचिवालयले वैशाख २८ गते सार्वजनिक लेखा समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यहरूलाई समेत उपस्थित हुन आग्रह गरेको छ ।
संसद् सचिवालयले विद्युतीय हाजिरी प्रणाली लागू भएपछि सांसदहरूको उपस्थितिको अभिलेख व्यवस्थापन थप प्रभावकारी र पारदर्शी हुने विश्वास व्यक्त गरेको छ ।

