काठमाडौं । सरकारी लगानी रहेका प्रमुख बैंकहरूमा व्यापक नेतृत्व परिवर्तन भएको छ । सरकारको सार्वजनिक संस्थामा राजनीतिक नियुक्ति लिएका व्यक्तिलाई पदमुक्त गर्ने निर्णयपछि विभिन्न सरकारी बैंकका अध्यक्षहरूले पदबाट राजीनामा दिएका हुन् ।
अर्थ मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय वाणिज्य बैंकका अध्यक्षसहित सञ्चालक समितिका सबै सदस्यले सामूहिक रूपमा राजीनामा दिएका छन् । यस्तै कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षहरूले मात्र पद त्याग गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक देवकुमार ढकाल रहेका थिए । बैंकको सञ्चालक समितिमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा. डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना तथा हरिकुमार सिलवाल सदस्यका रूपमा रहेका थिए ।
यस्तै कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल तथा नेपाल बैंकको अध्यक्षमा प्रा. डा. डिल्लीराज शर्मा कार्यरत थिए ।
सरकारले हालै सार्वजनिक निकायमा राजनीतिक नियुक्ति लिएका पदाधिकारीलाई हटाउने उद्देश्यसहित अध्यादेश ल्याएको थियो । उक्त व्यवस्था नेपाल राष्ट्र बैंक तथा सरकारी बैंकहरूमा प्रत्यक्ष रूपमा अनिवार्य नभए पनि सम्बन्धित अध्यक्ष तथा सञ्चालकहरूले सरकारको नीतिलाई समर्थन गर्दै स्वेच्छिक रूपमा राजीनामा दिएको बताइएको छ ।
यस घटनापछि सरकारी बैंकहरूको नेतृत्व पुनः संरचना गर्ने प्रक्रिया सुरु हुने अनुमान गरिएको छ ।

