काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री वालेन्द्र शाह को आह्वानमा बसेको परिषद् बैठकले बहुमतका आधारमा शर्माको नाम अनुमोदन गरेको हो ।
परिषद् बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले असहमति जनाए पनि प्रधानमन्त्री शाह, सभामुख डोलप्रसाद अर्याल र कानुनमन्त्री सोविता गौतमको समर्थनमा शर्माको नाम अघि बढाइएको स्रोतले जनाएको छ ।
प्रधानन्यायाधीश नियुक्तिका लागि यसअघि न्याय परिषद् ले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । तीमध्ये वरीयताको चौथो स्थानमा रहेका शर्मालाई परिषद्ले अन्तिम रूपमा अघि बढाएको हो ।
६ वैशाख २०७६ मा सर्वोच्च अदालत प्रवेश गरेका शर्मा ४ असार २०२७ मा जन्मिएका हुन् । उनी प्रधानन्यायाधीश नियुक्त भएमा २०८९ वैशाखसम्म सर्वोच्च अदालतको नेतृत्व गर्नेछन् । उनको कार्यकाल अवधिभर सर्वोच्च अदालतका ११ जना न्यायाधीश अवकाश हुने बताइएको छ ।
अब शर्माको नाम संसदीय सुनुवाइ प्रक्रियामा जानेछ । सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र उनी औपचारिक रूपमा प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेल ले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि परिषद्को बैठक बोलाइएको थियो ।

