काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी नौसेनाका तीन युद्धपोत सुरक्षित रहेको बताएका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत प्रतिक्रिया दिँदै अमेरिकी ‘डेस्ट्रोयर’ जहाजहरूले कुनै क्षति बिना आफ्नो यात्रा पूरा गरेको उल्लेख गरेका हुन् ।
अमेरिकी सैन्य स्रोतहरूका अनुसार हर्मुज क्षेत्र हुँदै गइरहेका अमेरिकी युद्धपोतलाई लक्षित गर्दै इरानी पक्षबाट मिसाइल, ड्रोन तथा साना डुंगामार्फत गतिविधि गरिएको थियो । अमेरिकी सेनाले भने ती आक्रमण प्रयासहरू विफल पार्दै आवश्यक प्रतिकारात्मक कदम चालेको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले अमेरिकी जहाज र सैनिक सुरक्षित रहेको दाबी गर्दै इरानी आक्रमणकारी पक्षलाई भने ठूलो क्षति पुगेको बताएका छन् । उनले भविष्यमा यस्ता गतिविधि दोहोरिए अझ कडा जवाफ दिइने चेतावनीसमेत दिएका छन् ।
ट्रम्पले इरानलाई तत्काल कूटनीतिक समाधानतर्फ आउन आग्रह गर्दै तनाव बढे थप कडा कदम चालिन सक्ने संकेत पनि गरेका छन् ।
हर्मुज विश्वकै महत्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक मानिन्छ । पछिल्ला घटनाक्रमले अन्तर्राष्ट्रिय सुरक्षा र ऊर्जा आपूर्तिमा नयाँ चिन्ता थपिएको छ ।
अमेरिकी अधिकारीहरूले आफ्नो सेना पूर्ण रूपमा सतर्क र सक्षम रहेको जनाउँदै परिस्थितिलाई थप जटिल बनाउन नचाहेको बताएका छन् । घटनाक्रमलाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट निगरानी गरिरहेको जनाइएको छ ।

