काठमाडौं । प्रधान न्यायाधीश नियुक्ति सिफारिसलाई लिएर उत्पन्न विवादका कारण सर्वोच्च अदालत को दैनिक कार्यसम्पादन प्रभावित भएको छ । वरीयता क्रम मिचेर न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरिएको विषयमा न्यायाधीशहरूबीच असन्तुष्टि बढेपछि दैनिक पेसी व्यवस्थापनमा असर परेको हो ।

सामान्यतया बिहानै सार्वजनिक हुने दैनिक पेसी सूची शुक्रबार भने ढिलाइ भएको छ । सर्वोच्च स्रोतका अनुसार मुद्दा बाँडफाँडका लागि हुने गोला प्रक्रियामा न्यायाधीशहरूको असहमति देखिएपछि पेसी सूची सार्वजनिक हुन नसकेको हो ।

प्रधान न्यायाधीश सिफारिसपछि उत्पन्न अवस्था, न्यायपालिकाको गरिमा र आगामी प्रक्रियाबारे छलफल गर्न न्यायाधीशहरू तथा सर्वोच्च प्रशासनका उच्च अधिकारीहरूबीच आन्तरिक बैठक जारी रहेको बताइएको छ । गोला प्रक्रिया अगाडि नबढेसम्म नियमित इजलास सञ्चालनमा समेत अन्योल देखिएको छ ।

न्याय क्षेत्रमा वरीयता र स्थापित परम्परा उल्लंघन भएको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ । वरिष्ठ न्यायाधीशहरूलाई पछि पारेर चौथो वरीयताका न्यायाधीशलाई नेतृत्वका लागि अघि सारिनुलाई न्यायपालिकाभित्र गम्भीर बहसको विषय बनाइएको छ ।

यस घटनाले सर्वोच्च अदालतको नियमित कामकाजमा मात्र नभई न्यायपालिका र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे पनि नयाँ प्रश्न उठाएको कानुन व्यवसायीहरूको भनाइ छ ।